पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत सबै राज्यका प्रमुख शहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा कार्यक्रम गरे।
सिड्नीमा आयोजित कार्यक्रममा नेपाल तथा अष्ट्रेलियाका नेपाली समुदायका बौध्दिकहरूको संगोष्ठि सहितको माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो। पण्डित प्रकाश ढोडारीले स्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा नेपालबाट पत्रकार युवराज घिमिरेले नेपाल एकीकरणको पृथ्वीनारायण शाहको योगदानलाई धुमिल बनाउनका लागि मिसनरीहरूले उनीहरूको अनुकुल नेपालको ईतिहासको व्याख्या गर्ने अनुसन्धान गराईरहेको बताउनु भयो। ‘यतो खेर नेपामा दिव्योपदेश नक्कली हो भन्ने समेत स्थापना गर्ने काम भईरहेको छ। अनुसन्धान हुनु राम्रो हो, तर अनुसन्धान गर्नेहरूलाई कसले ‘फण्ड’ गरिरहेको छ भन्ने पनि हेरिनु पर्छ’ घिमिरेले भन्नुभयो। उहाँले नेपालको आन्तरिक मामलामा भारतले राजा फाल्ने षडयन्त्रका लागी आफैले आतंकवादी घोषणा गरेको माओवादीलाई अगाडी बढाएपछीको २०६३ को परिवर्तनपछी राष्ट्रिय एकता दिवश किन हटाईयो भन्ने कुरा महत्वको भएको उल्लेख गर्नुभयो। पृथ्वीनारायण शाह माथिको आक्रमणले विदेशी शक्ति र तिनका आडमा नेपालमा उदाएका राजनीतिक, बौध्दिक तप्का नेपालको एकता र राष्ट्रवादी शक्ति राष्ट्रिय हितको पक्षमा काम गर्दै आएको शक्तिलाई निष्तेज गर्न चाहन्छन् भन्ने देखिन्छ। पत्रकार घिमिरेले नेपाल विश्वकै प्राचिन मुलुक भएको तथ्यलाई धमिल्याउँदै २०६३ पछि नेपालको अस्तित्व हामीले जोगाएका हौं भन्ने खालको भाष्य स्थापना गर्ने कुप्रयास प्रति विदेशमा रहने नेपालीहरु सचेत हुनुपर्ने बताउनु भयो।
व्यवसायी तथा अष्ट्रेलियाको नेपाली समुदायका अगुवा मेघराज श्रेष्ठले समुच्चमा देश रहे मात्र हामी नेपाली रहने भएकाले नेपालीको पहिचान मेटिने गरेर नचाहिने विवाद झिक्नु अवान्छित रहेको बताउनु भयो। हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेतले पृथ्वीनारायण शाहको एकीकरणको नतिजाको रूपमा गोर्खाली र नेपाली भनेर पहिचान र एउटा सबल देश पाएकोमा नेपालीहरूले गर्व गर्नुपर्ने बताउनु भयो।
अष्ट्रेलियाका प्रकाण्ड नेपाली पण्डित प्रकाश ढोडारीले सबै नेपालीले श्रद्धा र गर्वको विषयका रूपमा नेपालको राष्ट्रिय एकतालाई लिनु पर्ने बताउनु भयो। युवा ज्योतिष एवं पण्डित बालचन्द्र अधिकारीले विश्वका अरू देश र तिनका राष्ट्रनिर्माणको तुलना गर्दै पृथ्वीनारायण शाहको एकीकरणले हरेक धर्म, संस्कार, समुदाय सबैको पहिचान सहित हामीलाई नेपाली भनेर गर्व गर्ने बनाएको बताउनु भयो।
अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले नेपाल निर्माताका बारेमा वर्तमानमा जुन बादविवाद निकाल्न खोजिएको छ त्यो आवश्यक छैन। हामीले सन्तानलाई भविष्यमा नेपाल चिनाउँदा स्वत: पृथ्विनारायण शाहले नेपाल बनाएको प्रसंग आउने भएकाले पृथ्वीनारायण शाह र नेपाल प्रति गर्व गर्दै यसको गरिमा बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा एनआरएन अभियन्ता तथा नेपाली समुदायका युवा नेता डिला खरेलले नेपाली भएर विश्वको कुनै पनि कुनामा शीर उठाएर हिँड्ने अवस्था हामी र आउने पुस्तालाई समेत मिल्नु नै सबैभन्दा महत्वको विषय रहेको उल्लेख गर्नुभयो।
अष्ट्रेलियामा नै हुर्केकी नेपाली दोश्रो पुस्ताकी स्वीकृति सिवाकोटीले दशैं तिहार भव्य मनाईन्छ तर ईतिहास र नेपालको महत्व जनाउने दिवशहरू किन भव्य हुँदैन भनेर प्रश्न गर्नुभयो। उहाँले पृथ्वीनारायण शाह र नेपालका राजाहरूको योगदान सँधै स्मरण रहिरहनुपर्नेमा जोड दिनुभयो।
पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए।
क्यानबेरामा सांगीतिक प्रस्तुतीका साथ पृथ्वीजयन्ती
अष्ट्रेलियाको राजधानी शहर क्यानबेरामा बस्ने नेपालीहरूले सांगीतिक प्रस्तुती सहित पृथ्वीनारायण शाह र नेपाल एकीकरणको स्मरण गरे। पृथ्वी नारायण शाहको जन्मदिवश मात्र नभएर उहाँको ‘दिव्योपदेश’को सन्देशलाई आगामी पुस्ता पुस्ता सम्म पुरयाउनका लागी हरेक वर्ष यसरी नै पृथ्वी जयन्ती मनाउन जरूरी रहेको आदर्शजंग पाण्डेले बताउनु भयो। उहाँले शान्तिका लागी बुध्द प्रतिक भएजस्तै पृथ्वीनारायण शाह नेपालको विविधतामा एकताको प्रतिक रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा क्यानबेराका डा. कृष्ण हमाल, अशोक बस्नेत, सन्तोष मल्ल, राजन ढुंगेल, चुडामणि सापकोटा, यादव कोईराला लगायतका सामुदायिक नेताहरूको सहभागिता थियो। क्यानबेरामा पृथ्वीजयन्ती मनाउनका लागी प्रेम थापाको संयोजकत्वमा समिती गठन भएको थियो। हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्।
Post a Comment