अष्ट्रेलियामा नेपालीहरुको संख्यासँगै समस्याहरू पनि बढ्न थालेका छन्। अधिकांश कमजोर योजनाका साथ विद्यार्थी भिजामा आउँदा गरेका गल्तिका कारण समस्यामा पर्ने गरेका छन् भने कतिपयल चाहिँ जानकारी हुनुपर्ने विषयहरूमा जानकारी नराख्दा समस्यामा परिरहेका छन्। त्यसो त समुदाय कै अघिल्ला पुस्ताका कारण समस्यामा पर्नेहरूको संख्या पनि कम छैन। कानुनी, सामाजिक तथा स्वास्थ्यका अनेकन विषयमा नेपालीहरू समस्यामा पर्ने गरेका छन्। नेपाली विद्यार्थी तथा अष्ट्रेलियामा नै 'सेटल' भएर बसेकाहरूको फरक फरक खालका समस्या छन्। अष्ट्रेलियामा सरकार साथै गैरसरकारी संस्थाहरूबाट समस्यामा परेकाहरूलाई सहायता मिल्ने भएपनि पर्याप्त जानकारी नहुँदा नेपालीहरूले अनावश्यक रूपमा नै समस्याहरूसँग जुधेर जिवन अगाडी बढाउनु पर्ने अवस्था छ।
अष्ट्रेलियामा बस्ने नेपालीहरूको यस्तै समस्याहरूको औपचारिक रूपमा पहिचान गर्ने र समाधानका उपाय पत्ता लगाउन पहल गर्ने हिसाबले सिड्नीमा बृहद अन्तर्क्रिया हुने भएको छ। विशेष गरेर विद्यार्थी र अस्थायी भिसामा रहेका नेपालीहरूलाई केन्द्रमा राखेर गर्न लागिएको कार्यक्रममा अष्ट्रेलियाको नेपाली समुदायमा चिनिएका विषय विज्ञको सहभागिता हुने आयोजक एभरेष्ट टिभीले जनाएको छ। आयोजकका तर्फबाट विज्ञप्ति जारी गर्दै तीर्थ खतिवडाले कार्यक्रमले अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई आफ्ना समस्या र तीनको समाधानका लागी नेपाली दूतावास, नेपाल सरकार साथै अष्ट्रेलियामा सक्रिय नेपालीहरूका व्यवसाय तथा गैरसरकारी संस्थाहरुलाई सुझाव दिने अवसर दिने बताउनुभयो।
मे महिनाको १३ तारिखमा हुने कार्यक्रमका लागी ३० अप्रिल सम्म सहभागी हुनका लागी दर्ता गरिसक्नुपर्ने छ। आयोजकका तर्फबाट खतिवडाले १५० जना क्षमताको हलमा हुने कार्यक्रमका लागी सहभागी निश्चित संख्यामा मात्र हुनसक्ने भएकाले दर्ता अनिवार्य रहेको जानकारी दिनुभयो।
धेरै भन्दा धेरै अर्थपूर्ण प्रश्न र जवाफको आशा राखिएको कार्यक्रममा प्रश्नकर्ताहरूले उत्कृष्ठ प्रश्नको लागी पुरस्कार समेत पाउने पाउनु हुनेछ। राम्रा प्रश्न गर्नेहरूबाट पहिलोले ३०० डलर, दोश्रोले २०० डलर र तेश्रोले १०० डलर पुरस्कार पाउने आयोजकको भनाई रहेको छ।
अष्ट्रेलियामा नेपालीको संख्या बढ्दै जाँदा अनेकन समस्याहरू देखिएपनि अर्थपूर्ण कार्यक्रम र आवाज उठ्न सकेको छैन। अधिकांश कार्यक्रमहरू समुदायका स्थापित भनिने केही सदाबहार व्यक्तिसँग फोटो खिचाउनुलाई नै उपलब्धि मान्नुपर्ने खालका छन्। यस्तो परिप्रेक्षमा एभरेष्ट टिभीको तर्फबाट हुन लागेको कार्यक्रममा देशभरबाट चिनिएका र चुनिएका प्रतिनिधीबाट विद्यार्थी तथा अस्थायी भिसामा हुनेहरूका विषय सम्बोधित र समस्याको पहिचान हुने धेरैले आशा गरेका छन्।
आयोजकले पनि देशभरबाट प्रश्न र गुनासो भिडियो वा अडियोमा रेकर्ड गरेर समेत पठाउन अनुरोध गरेका छन्। अष्ट्रेलियामा हुने जो कुनै नेपालीले everestnewsaus@gmail.com मा आफ्नो गुनासो वा प्रश्न पठाउन सक्नुहुन्छ।
Post a Comment