शनिबार सिड्नीमा नेपाल फेस्टिवल, राज्य कै ठूलो नेपाली जमघट

अधिकांश स्टल एजुकेशन कन्सल्टेन्सी, मोर्टगेज र रियलस्टेट एजेन्ट, नेपाली रेस्टुरेन्टहरूको हुने भएपनि नेपालीहरूको ठूलो जमघट हुने भएकाले बच्चाहरूलाई विकेण्ड ईभेन्टका रुपमा सहभागी गराउनै पर्ने कार्यक्रम हो 'नेपाल फेस्टिवल'। 

Nepal Festival Sydney 2024

दुई वर्षमा एकपटक अष्ट्रेलियामा बस्ने नेपालीहरूको लागी ठूलो नेपाली जमघटको अवसर जुट्ने गर्दछ। हरेक राज्यमा यसखालको जमघट हुने गरेको छ, 'नेपाल फेस्टिवल'को नाममा। आयोजक हो गैर आवासिय नेपाली संघ अर्थात् एनआरएनए। यस महोत्सवलाई एनआरएनएले आफ्नो 'सिग्नेचर' कार्यक्रम भनेर महत्वका साथ आयोजना गर्ने गर्दछ। 'नेपाल फेस्टिवल' नाम दिईए पनि यसमा हुने स्टलहरूले सिधै नेपालको उत्पादन वा पर्यटकीय प्याकेजहरू भने समेट्दैन। तर, नेपाली खाना, केही हदमा कला संस्कृतिको झाँकी भने प्रस्तुत गर्दछ। मुख्यत अष्ट्रेलियामा बस्ने नेपालीहरूलाई एउटै स्थानमा भेला गराउँछ, अनि नेपाली मूलका व्यवसायहरूसँग परिचित हुने अवसर जुटाउँछ। यसैको नयाँ संस्करण २०२४ को 'नेपाल फेस्टिवल' सिड्नीमा शनिबार हुँदैछ। सिड्नीको डार्लिङ हार्बरमा टुम्वालुङ पार्कमा।  

शनिबार विहान १० बजेबाट राती १० बजेसम्म फेस्टिवल चल्नेछ। फेस्टिवलमा लोकप्रिय नेपाली खाना स्टल हुनेछन्, यस्ता स्टल १४ वटा रहनेछन् भने उल्लेख्य रूपमा रियलस्टेट एजेन्ट, एजुकेशन एजेन्ट, लगायतका स्टल रहनेछन्। यसपटक नेपालबाट अष्ट्रेलिया हस्तकलाको प्रचार गर्न आएको बागमती प्रदेश हस्तकला संघको टोलीले समेत फेस्टिवलमा नेपालका हस्तकलाका सामग्री प्रदर्शनमा राख्ने बताईएको छ। महोत्सवमा एउटा विशेष स्टलका रूपमा 'नेपाल हाउस' रहनेछ, जसमा नेपालको कला संस्कृति, धर्म परम्परा र ईतिहास झल्काउने सामग्रीहरू रहनेछन्।

डार्लिङ हार्बरको केन्द्रमा रहेको टुम्वालुङ पार्कमा फेस्टिवलको मुख्य गतिविधी हुँदा, सिड्नीका विभिन्न सडकमा नेपालको झण्डा फहराउँदै विभिन्न भाषा र संस्कृतिको प्रतिनिधित्व हुने एउटा रयालीको आयोजना हुनेछ। सो रयाली महोत्सव हुने स्थानमा पुगेर टुंगिने छ। कार्यक्रममा सांगितीक प्रस्तुतिका लागी नेपालबाट दि एक्स व्याण्ड, आस्था राउत, हेमन्त शर्मा र पशुपति शर्मालाई बोलाईएको छ भने सिड्नीका स्थानिय कलाकारहरूको समेत प्रस्तुति रहने बताईएको छ।

Nepal Festival Rally in 2022, cultural rally Nepalese
नेपाल फेस्टिवल २०२२ को एक झलक।

यसपटकको नेपाल फेस्टिवलमा न्यूसाउथवेल्स राज्यका प्रिमियर क्रिस मिन्स प्रमुख अतिथि हुनुहुने, गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले जनाएको छ। एनआरएनए अष्ट्रेलियाका  अध्यक्ष अनिल पोखरेलले यसपटक ३० हजार भन्दा बढी सहभाी हुने अपेक्षा गरिएको बताउनु भयो। समय समयमा नेपाली सांगितिक र अन्य महोत्सवहरू भएपनि नेपाल फेस्टिवल अष्ट्रेलियाको नै सबैभन्दा ठूलो नेपाली कार्यक्रम हो। विशेष सिड्नीको नेपाल फेस्टिवलमा बीस देखी तीस हजार जतिको सहभागिता हुने गरेको छ।

कहाँ हुँदैछ, सिड्नी नेपाल फेस्टिवल? 

सिड्नीमा हुने भनिएको नेपाल फेस्टिवल, सिड्नीको प्रसिद्ध स्थान डार्लिङ हार्बरमा हुँदैछ। त्यहा रहेको सार्वजनिक खुला पार्क नै फेस्टिवलको आयोजना स्थल हो। डार्लिङ हार्बरमा रहेको चिनियाँ गार्डेन,  अन्तराष्ट्रिय सम्मेलन केन्द्र सँगै यो पार्क रहेको छ। 

कसरी जाने? 

सिड्नीको मूख्य शहरी भागमा रहेको पार्कमा महोत्सव हुने र विकेण्डको भिडभाड पनि हुने भएकाले सार्वजनिक यातायात प्रयोग गर्नु सबैभन्दा उत्तम हुन्छ। तर, तपाईं आफ्नै गाडीमा पनि सिड्नी नेपाल फेस्टिवलमा सहभागी हुन जान सक्नुहुन्छ, त्यसको लागी पार्किङ कता गर्ने भन्ने बारे चाहिँ पहिले नै योजना बनाउनु बुद्धिमानी हुन्छ। सार्वजनिक यातायात प्रयोग गर्ने हो भने सेन्ट्रल स्टेशनबाट एक्जिभिसन सेन्ट्रल सम्म लाईटरेल र त्यसपछी केही मिनेटको हिंडाई पर्दछ। 

यस्ता कुरामा दिनुस् ध्यान!


दिनभरको कार्यक्रम हुने भएकाले घरबाट निस्कनु अघि मौसम कस्तो रहन्छ भन्ने ध्यान दिनुस्। छाता र पानीको बोटल बोक्न नबिर्सनुस्। पानी भर्नको लागी पार्क वरपर धाराको व्यवस्था छ। बच्चा लिएर जाँदै हुनुहुन्छ भने बच्चाको कपडा र 'न्याप्पी' बदल्न मिल्ने शौचालयको व्यवस्था कता छ भन्ने पत्ता लगाउनुस्। बुझ्ने उमेरका बच्चाहरू छन् भने रयाली र नेपाल हाउसमा लगेर नेपाली धर्म, संस्कृतिका कुरा बुझाउन नछुट्नुस्।

Post a Comment

Previous Post Next Post

Advertisement

गोपनियता र कुकिज बारे!

हामी कुकिज तथा अरू प्रविधि र टुलहरू प्रयोग गरेर वेबसाईटको प्रयोग र प्रयोगकर्ताको प्रवृति आँकलन गर्दछौं, ताकी तपाईंलाई सही तरिकाले सही सामग्री देखाउन सकौं.

गोपनियता नीति हेर्नुहोस्